कोरोना भाइरस संक्रमण र यसका असरहरु ?

– गोविन्द मणि भुर्तेल

कोरोना भाइरसको महामारीको कारण आज वतर्मान विश्व पीडादायी र ग्रस्त अवस्थाबाट गुज्रिरहेको मात्र छैन, लकडाउनको कारण आर्थिक अवस्था समेत चौपट हुन पुगेको छ।  करोडौले रोजगार गुमाएका छन्।  ६ मिलियन मानिस गरिबीको रेखामुनि धकेलिने संकेत देखा परेको विश्लेषण गर्न थालिएको छ।  हुन त इतिहासमा अनेक प्रकारका महामारीले मानव समुदायमा ठुलो उथल पुथल ल्याईदिएका धेरै उदाहरण छन्।  तर्क के पनि गरिन्छ भने प्रकृतिलाई कुरुप पार्ने गरि बिगारेको र चरम दोहनको कारण प्रकृतिले आफैँ सन्तुलन मिलाउछ र वर्तमान कोरोना भाइरसको संक्रमण यसैको कडीको रुपमा रहेको भनेर पनि भन्ने गरिएको छ। जे होस् यस कोरोना भाइरसको महामारीले वर्तमान विश्व मानव समुदायलाई हायल कायल परेको छ।  अझ भनौं,  गरिब राष्ट्र त के , विकसित भनिएका अमेरिका, युरोपियन राष्ट्रहरु , जापान, कोरिया आदिमा पनि जनजीवन अस्तव्यस्त तुल्याएको छ।  दिनहु हजारौं मानिसले मृत्युवरण गरेका छन् र यस महामारीको आजसम्म औषधिमूलो पत्ता लगाउन सकिएको छैन ।  तर पनि कोरोना भाइरसले बिस्तारै मौसमी संक्रमणको रुप धारण गर्न सक्ने अमेरिकी वैज्ञानिकले चेतावनी दिदै भनेका छन् कि पुरै विश्वोमा कोरोना भाइरसको नियन्त्रण असम्भव जस्तै देखिएको छ। तर कतिपय चिनिया र अमेरिकन अनुसन्धानविद ले आशा जगाउदै भनेका छन् कि यो कोरोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउदै जानेछ।  त्यसैगरि अमेरिकन वैज्ञानिकले कोरोना संक्रमण हुन नदिन प्रतिरोधात्मक शक्ति वृद्धि गर्न दिइने खोप विकास गरि सकेको भनिन्छ। 

वर्तमान महामारीको असरलाई लिएर पक्ष र विपक्षमा बहस र तर्क देखिएका छन्। एकथरीले भन्ने गरेका छन् यस महामारीले विश्व समुदायलाई एकै ठाउमा ल्याउने छ, एकजुट भएर सोच्ने छन्। लकडाउनका कारण वातावरणमा अभूतपूर्व सुधार र स्वच्छता आउने छ या पुनः प्रकृति मुस्कुराउने छ र अन्तत्वगत्वा मनुष्यको मुहारमा मुस्कान ल्याउने छ।  त्यसैगरी अर्काथरीले भन्ने गरेका छन् कि मानिस अब सामुहिक चिन्तनबाट खुम्चिएर संकिर्ण राष्ट्रवादमा केन्द्रित हुने छन्।  तसर्थ अहिले  ” पर्खौं र हेरौँ ” को अवस्थाबाट समाज गुज्रीरहेको छ।

अर्थतन्त्र दरो र बलियो भएका देशले त यो संकटबाट जसोतसो पार पाउलान तर नेपाल जस्ता गरिब राष्ट्रले कसरि पार पाउछन, यो अहिलेको अहम सवाल बनेको छ।  नेपालमा २०७२ सालमा आएको भुकम्पमा त अरु मुलुकले सहयोग गरे तर अहिले त्यो अवस्था छैन।  सबैले आफ्नै मुलुक सम्हाल्ने ध्यानमा केन्द्रित गराएका छन् ।

नेपालको सन्दर्भमा कोरोना संक्रमणको प्रभावलाई हेर्दा पहिला त विश्वबाट कोरोना संक्रमण पूर्ण रुपमा हट्न समय लाग्ने र हटि सकेपछि पनि विदेशी पर्यटकहरु ठुलो संख्यामा ह्वार-ह्वारती आउने छैनन् र पर्यटन नै नेपालको प्रमुख विदेशी मुद्र आर्जन  र रोजगारीको मुख्य श्रोत हो।  खासगरी एकतिर कोरोना संक्रमण पछि अयति पोस्ट पेण्डमिक (Post Pandemic) पछि पनि मानिसहरु विदेश यात्रा गर्न उत्साहित नहुने र अर्कातिर कोरोना महामारी पछि लगत्तै कामदार माग गर्ने देशले तुरुन्तै अधिक कामदारको माग गरिहाल्ने  स्थिति पनि नहुने हुदा हाम्रो जस्तो देश जसले कुल ग्राह्यस्थ उत्पादन (GDP) को झन्डै ३०% वैदेशिक रोजगारमा जाने कामदारले कमाएर पठाउने रेमिटेन्स बाट योगदान पुर्याई रहेको देशमा यो संक्रमणको बेला र संक्रमण पछि पनि गम्भीर असर पुग्ने देखिन्छ। यसै गरि बैदेशिक रोजगारमा गएका मुलुकले विदेशी कामदारलाई आफ्नो घर फर्किन अनुरोध गरिसकेको पृष्ठभूमिमा झन्डै ४० लाख युवाशक्ति स्वदेश फर्किए भने मुलुक भित्र कस्तो अवस्था सृजना होला भन्ने बडो गम्भीर प्रश्ने अगाडी आएको छ। तसर्थ तत्कालै ठुला उद्योग स्थापना गरेर व्यापक रोजगारीको अवसर सृजना गर्ने सम्भावना नभएकाले साना तथा मझ्यौला उद्योग, कृषिमा आधारित उद्योग र कृषिजन्य वस्तुको उत्पादनमा व्यापक विकास गर्नु पर्ने भएकाले र यो सम्भव पनि भएकोले बेलैमा उपयुक्त कृषि नीति ल्याउनु पर्दछ।  बाहिर गई ज्ञान र सीप हासिल गरेका कामदार श्रमिकले पनि आफ्नो गाउँ घरमा खेतीपाती र स-साना उद्योग धन्दा खोलेर न्युनतम कृषिमा आत्मनिर्भर हुन सक्यौं भने पनि मुलुकको अर्थतन्त्र घरयसी उद्यम का सहयोगले जोगिनेछ। 

अन्त्यमा सिक्काको अर्को पाटो झैँ यो कोरोना भाइरसको संक्रमणका कारण बैंकिंग सेवा र पैसाको भुक्तानी e -sewa, fonpay आदिको माध्यम विकसित मुलुकमा झैँ प्रविधियुक्त भुक्तानी कारोबार बढाई, नगदमा हुने  कारोबारलाई न्युन गर्न सकिन्छ।  दोस्रो, लकडाउनको कारण मुलुकभरिको वातावरणमा अत्यन्त स्वच्छ र सफा बनाउन सघाऊ पुर्याएकोले यस्तै वातावरण कायम राख्न भविष्यमा मार्गदर्शन मिल्ने देखिन्छ। तेश्रो, गाउँबाट शहरमा आई बस्नेहरु अधिकांश पुनः गाउँ फर्किएको अवस्था भएकोले गाउँमा बाँझो रहेका खेतजग्गामा खेतीपाती गरि खाद्दनमा आत्मनिर्भर बन्ने अवसर पनि सृजना गरेको छ।  चौथो, हार्मो नमस्कारको संस्कृति घर भित्र पस्नु अघि बाहिरै जुत्ता, चप्पल फुकालेर मात्र भित्र पस्ने संस्कृतिलाई अहिलेको नया पुस्ताले पनि सिक्ने अवसर पाउने छन्।  पाचौं, लकडाउनको कारण घर बाहिर जना नपाउने स्थितिले आवश्यक खर्चमा व्यापक कटौती भएको छ , यसले मानिसमा अनावश्यक खर्चलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास गराइन सक्ने देखिन्छ।  

लेखक :

गोविन्द मणि भुर्तेल

नेपाल सरकारका पुर्व सह-सचिव 

Be the first to comment on "कोरोना भाइरस संक्रमण र यसका असरहरु ?"

Leave a comment

Your email address will not be published.


*